कास्की – आसन्न निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले कास्की क्षेत्र नं ३ मा आफ्नो चुनावी अभियानलाई तीव्र पारेकी छन्। घरदैलो कार्यक्रमको क्रममा गुरुङले पोखरा महानगरपालिका–२३ अन्तर्गत बराङ र कार्कीको तगारो लगायतका क्षेत्रमा मतदाताहरूसँग भेटघाट र अन्तरक्रिया गरेकी हुन्।
गुरुङले अभियानका क्रममा युवाहरू, दिदी–बहिनी तथा आमाबुबाहरूबाट पाएको साथ र सहयोगले आफूलाई थप ऊर्जा मिलेको बताएकी छन्। फेसबुक पोस्टमार्फत उनले जनताको “जोश, उत्साह र माया पाउँदा आफू अत्यन्तै हर्षित र जिम्मेवार” बनेको उल्लेख गरेकी छन्।
चुनावी घरदैलोकै क्रममा बिना गुरुङले रास्वपाकी समानुपातिक उम्मेदवार रीमा विश्वकर्मासँग भेटघाट गरेकी छन्। रीमा विश्वकर्माको उपस्थितिले आफ्नो अभियानमा थप ऊर्जा थपेको गुरुङको भनाइ छ।
महिला नेतृत्वको विषयमा जोड दिँदै गुरुङले भनिन्, “अबको पालो महिलाको, अबको पालो सक्षम नेतृत्वको।” उनले महिलाहरूलाई भान्साकोठाबाट निस्किएर नेतृत्व लिनुपर्ने समय आएको सन्देश दिँदै मतदाताहरूसँग आह्वान गरेकी छन्। गुरुङले आफ्नो पोस्टमा थपेकी छन्, “भान्साबाट निस्किएर सदनसम्म पुग्ने यो यात्रामा तपाईँहरूको साथको अपेक्षा गर्दछु।”
रास्वपाले कास्की–३ मा परिवर्तनको भरोसा र नयाँ राजनीति स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गुरुङले चुनावी अभियानमा सफलता प्राप्तिका लागि आमाहरूको आशीर्वाद पनि लिएको जानकारी दिएकी छन्।






