कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार विना गुरुङले आफ्नो चुनावी अभियानलाई पोखरा महानगरपालिकाको दुर्गम क्षेत्रहरूमा तीव्र पार्नुभएको छ। पुराना राजनीतिक दलहरूको परम्परागत शैलीबाट आजित भएका मतदाताहरूको साथ खोज्दै गुरुङले कास्की–३ अन्तर्गतका विभिन्न वडाहरूमा उम्मेदवार परिचय तथा सदस्य भेटघाट कार्यक्रम सम्पन्न गरिरहनुभएको छ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं. १९ को पुरञ्चौरस्थित कौउरे, तल्लाकोट, थापलिथोक, तल्लोडाँडा, ठाटी, चुरूनंगा र लामपाटा लगायतका क्षेत्रहरूमा आयोजित कार्यक्रमहरूमा जनताको उल्लेख्य र सक्रिय सहभागिता देखिएको थियो। उम्मेदवार गुरुङले यी भेटघाट कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
रास्वपाको चुनावी प्रतीक ‘घण्टी’ लाई लक्षित गर्दै गुरुङले नयाँ पुस्ताको राजनीति स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँको टोलीले चुनावी नाराका रूपमा “घण्टी टिनी–टिनी, पुरानो राजनीति बिदा लिनी!” भन्दै परिवर्तनको सन्देश प्रवाहित गरिरहेको छ।
स्थानीय मतदाताहरूले पुरानो शैलीको राजनीतिलाई बिदा गरी सुशासन र पारदर्शिता स्थापना गर्ने उम्मेदवारको प्रतिबद्धतालाई समर्थन जनाएका छन्। कास्की–३ मा विना गुरुङको अभियानले मतदाताहरूलाई वैकल्पिक राजनीतिक शक्ति छान्ने अवसर प्रदान गरेको भन्दै रास्वपाले आफ्नो प्रचारप्रसारलाई थप गति दिएको छ। पार्टीले जनताको साथ र सक्रिय सहभागिताले चुनाव जित्न सहज हुने विश्वास लिएको छ।
तस्बिरहरू



