कास्की–३ मा रास्वपाकी विना गुरुङको चुनावी माहोलः पोखरा-१९ मा व्यापक जनलहर
“समाज परिवर्तनका निम्ति यहाँहरूको विश्वासले हामीलाई थप प्रेरित गरेको छ, देश घण्टीमय बन्दैछ।”
कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङले आगामी निर्वाचनको लागि कास्की क्षेत्र नं ३ मा आफ्नो चुनावी अभियानलाई तीव्र पारेकी छिन्। हालै पोखरा महानगरपालिका वडा नं १९ अन्तर्गत विभिन्न स्थानमा भएका घरदैलो तथा जनभेटघाट कार्यक्रममा उहाँले मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको छ।
गुरुङले पोखरा–१९ अन्तर्गतका चितेपानी, पुरनचौर र घार्मीका स्थानीयहरूसँग भेटघाट गर्दै रास्वपाको एजेण्डा प्रस्तुत गर्नुभयो। अभियानकै क्रममा बेशीचोक नमुना आमा समूहले आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय महिलाहरूको उत्साहजनक समर्थन पाउनुभयो। भेटघाटमा सहभागी स्थानीय मतदाताहरूले ‘घण्टी’ चुनाव चिह्नप्रति विशेष चासो देखाएका थिए।
सोही क्रममा नमुना आमा समाजमा केही स्थानीय व्यक्तिहरू रास्वपामा पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गराएपछि उम्मेदवार गुरुङले स्थानीयहरूको साथ र विश्वासले हौसला मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “समाज परिवर्तनका निम्ति यहाँहरूको हामीप्रतिको साथ र विश्वासले हामीलाई अझ प्रेरित गरेको छ।”
गुरुङका अनुसार यो जनलहरले कास्की–३ मा आफूहरूको विजय सुनिश्चित भएको संकेत गर्छ। उहाँका समर्थकहरूले यो अभियानलाई इंगित गर्दै पोखरासहित देशभरि नै “देश घण्टीमय बन्दै” गएको दाबी गरेका छन्। उम्मेदवार गुरुङले स्थानीय विकास, सुशासन र जनताको प्रत्यक्ष सहभागितालाई आफ्नो प्रमुख प्राथमिकता बनाएको बताउनुभयो।
तस्बिरहरू






