कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कास्की क्षेत्र नम्बर ३ की उम्मेदवार बिना गुरुङले चुनावी प्रचारप्रसारका क्रममा नागरिकसँगको प्रत्यक्ष तथा डिजिटल सम्बन्धलाई प्राथमिकता दिएकी छिन्। उनले क्षेत्रको समृद्ध भविष्य निर्माणका लागि मतदाताहरूको राय र सुझाव संकलन गर्न अनलाइन माध्यम (QR कोडसहितको फारम) प्रयोगमा ल्याएकी छिन्।
उम्मेदवार गुरुङले क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू बुझेर सही दिशा तय गर्न नागरिकको भावना र अनुभव महत्वपूर्ण रहेको बताएकी छिन्। उनले सार्वजनिक रूपमा मतदाताहरूसँग आग्रह गर्दै भनेकी छिन्, “तपाईंको एउटा सुझावले नै हामीले अगाडि चाल्नुपर्ने कदम निर्धारण गर्छ, किनभने तपाईंको सुझाव नै हाम्रो सबैभन्दा ठोस मार्गदर्शन हो।”
गुरुङले आफ्नो राजनीतिक एजेन्डामा देशको भविष्यका लागि भ्रष्टाचारको अन्त्यलाई मुख्य प्राथमिकतामा राखेकी छिन्। संसदमा आफ्नो प्रमुख भूमिकाबारे स्पष्ट पार्दै उनले भनिन्, “म संसदमा महिला सशक्तिकरण तथा बालबालिकाको हक–अधिकारका लागि सशक्त आवाज बन्नेछु।”
यसै क्रममा, गुरुङ र उनको टोलीले पोखरा-२५, हेम्जास्थित याम्दी क्रान्तीटोलमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। स्थानीयहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै रास्वपाकी उम्मेदवार गुरुङले प्रत्यक्ष संलग्नता र प्राविधिक प्रयोगमार्फत कास्की ३ मा परिवर्तनको नारा लिएर चुनावी मैदानमा होमिएको बताएकी छिन्।
तस्बिरहरू



