कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसारलाई अन्नपूर्ण गाउँपालिका क्षेत्रमा केन्द्रित गर्दै मतदातासँगको भेटघाटलाई तीव्र पारेकी छिन्।
चुनावी अभियानकै क्रममा उम्मेदवार गुरुङले अन्नपूर्ण गाउँपालिका अन्तर्गतका ढिकुरपोखरी र नौडाडा क्षेत्रका स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद सम्पन्न गर्नुभएको छ। भेटघाटमा स्थानीय मुद्दाहरूमा जनताले राखेको चासो र आफूप्रति देखाएको विश्वासले थप जिम्मेवार बनाएको गुरुङले बताउनुभयो।
उहाँले नेपालको विद्यमान राजनीतिक अवस्था र सुशासनको आवश्यकतामाथि जोड दिँदै देशलाई केही सीमित व्यक्तिको निजी सम्पत्तिको रूपमा नहेर्न आग्रह गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा समेत आवाज उठाउन आह्वान गर्दै भन्नुभयो, “यो देश कसैको निजी सम्पत्ति होइन—मेरो पनि हो, तपाईंको पनि हो। आवाज उठाऔँ।”
रास्वपाकी उम्मेदवार गुरुङले देशलाई लामो समयदेखि अन्धकारमा राख्ने र रोजगारीको अभावमा युवाहरूलाई विदेश पलायन गराउने अवस्थाको अन्त्य हुने घोषणा गर्नुभएको छ। “देशलाई अन्धकारमा राख्ने र प्यारा छोरा–छोरीलाई आमा–बुवाको काखबाट खोस्ने दिन अब सकिँदैछन्,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
परिवर्तनका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै उहाँले मतदातालाई राष्ट्रियस्तरमा सुनिने गरी ‘घण्टी’ बजाउन आह्वान गर्नुभयो। गुरुङले भन्नुभयो, “देशैभरि सुनिने गरी घण्टी बजाऔँ। परिवर्तनको बाटोमै अब अघि बढाऔँ।” रास्वपाले कास्की-३ मा बिना गुरुङको नेतृत्वमा परिवर्तनको लहर ल्याउने दाबी गरेको छ।
तस्बिरहरू



