कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई ग्रासरुट तहमा तीव्र पारेकी छन्। महिला समूह र युवा मतदातामाझ उहाँको सक्रियता बढ्दै जाँदा रास्वपाले कास्कीमा नयाँ लहर ल्याउने अपेक्षा गरिएको छ।
उम्मेदवार गुरुङले हालै भुनपुरे आमा समूहको उपस्थितिमा आयोजना गरिएको परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जनाएकी छन्। स्थानीय महिला मतदाताहरूको उत्साहजनक सहभागिताले उहाँलाई हौसला मिलेको छ। सो क्रममा उहाँले महिलाको राजनीतिक सहभागितालाई जोड दिँदै देश बनाउने महाअभियानमा आफू अग्रसर रहेको बताउनुभयो।
भेटघाट र चुनावी प्रचारप्रसारको क्रममा प्राप्त जनसहयोगबाट आफू ‘निशब्द’ भएको प्रतिक्रिया उहाँले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको छ। उहाँले देशको नेतृत्व परिवर्तन गर्न अब युवाको भूमिका निर्णायक हुने ठहर गर्नुभएको छ।
गुरुङले विशेषतः युवा वर्गलाई राष्ट्र निर्माणको कार्यमा संलग्न हुन आह्वान गर्दै भन्नुभयो, “आऊ युवा हो, देशका लागि आऊ!” रास्वपाले कास्कीमा परिवर्तनको सन्देश फैलाउन महिला उम्मेदवारमार्फत सशक्त प्रतिनिधित्व गराइरहेको छ। उम्मेदवार गुरुङले स्थानीय मतदाताको साथ र सहयोगबाट आफू विजय हासिल गर्न सफल हुनेमा पूर्ण विश्वस्त रहेको बताउनुभएको छ।
तस्बिरहरू






