कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि कास्की क्षेत्र नं. ३ मा आफ्नो चुनावी गतिविधि तथा जनसम्पर्कलाई व्यापक बनाएको छ। यस क्षेत्रकी उम्मेदवार विना गुरुङले दुर्गम क्षेत्रसहित विभिन्न वडामा आयोजित भेटघाट र परिचय कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नुभएको छ।
गुरुङले हालै कास्कीकोट वडा नं. २४ मा स्थापित सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो। कार्यालय उद्घाटन समारोहपछि स्थानीय जनतासँगको भेटघाटमा उहाँले आफूप्रति देखिएको “माया, साथ र विश्वास” का लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
चुनावी प्रचारप्रसारको क्रममा उम्मेदवार गुरुङ अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा सक्रिय रहनुभएको छ। अन्नपूर्ण गाउँपालिका वडा नं. १०, घान्द्रुकमा आयोजित उम्मेदवार परिचय तथा सदस्य भेटघाट कार्यक्रममा जनताको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको पार्टीले जनाएको छ। त्यसैगरी, मेलाची, अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ मा आयोजित अर्को परिचय कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भयो।
भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले आपसी एकता र चिनजानको महत्त्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “आपसी चिनजान र एकता नै हाम्रो शक्ति हो।” रास्वपाले परिवर्तनको अभियानका रूपमा लिएको यस चुनावी दौडमा उहाँले ‘जेन–जि विद्रोहका सहिदहरू’ लाई समेत स्मरण गर्दै देशका लागि जीवन अर्पण गर्नेहरूको बलिदानबाट प्रेरणा लिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रास्वपाले कास्की-३ मा सङ्गठन विस्तारलाई तीव्रता दिँदै जनताको घरदैलोमै पुग्ने नीति अख्तियार गरेको छ।
तस्बिरहरू





