रास्वपाकी उम्मेदवार गुरुङ भन्छिन् – यहाँ देखिएको घण्टीप्रतिको माया र एकता नै हाम्रो शक्ति हो।
कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की प्रतिनिधिसभा उम्मेदवार विना गुरुङले अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडा तथा दुर्गम क्षेत्रहरूमा आफ्नो चुनावी अभियानलाई तीव्र पारेकी छन्। उनले हालै अन्नपूर्ण गाउँपालिका अन्तर्गत वडा नं ७ (लान्द्रुक, तोल्का) सहित मौजा, मोहरिया, किम्चे तथा दाङसिङ क्षेत्रमा परिचय तथा सचेतना कार्यक्रमहरू सम्पन्न गरेकी हुन्।
स्थानीय जनतासँग हातेमालो गर्दै र आशीर्वाद बटुल्दै गुरुङले आगामी निर्वाचन तथा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका परिवर्तनका एजेन्डाहरूमाथि प्रकाश पारेकी थिइन्। ती क्षेत्रमा आयोजित परिचय कार्यक्रमहरू भव्यताका साथ सम्पन्न भएको र जनताबाट उल्लेख्य साथ पाएको उनले बताएकी छन्।
चुनावी अभियानमा देखिएको जनसहभागिता र समर्थनबाट उत्साहित हुँदै उम्मेदवार गुरुङले जनतालाई धन्यवाद ज्ञापन गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, “यहाँ देखिएको घण्टीप्रतिको माया, साथ र एकताले हामीलाई अझ बलियो बनाएको छ।” उनले आपसी चिनजान र एकता नै राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक शक्ति भएकोमा जोड दिइन्।
परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएकी गुरुङले अन्नपूर्णका दुर्गम भेगमा भेटघाट कार्यक्रम सकेलगत्तै आगामी कार्यक्रमका लागि नारेश्वरमा स्थानीयहरूलाई आमन्त्रण गरेकी छन्। रास्वपाका लागि महत्वपूर्ण मानिने कास्की–३ मा विना गुरुङ स्थापित दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरिरहेकी छन्। उनले जनताको साथबाटै परिवर्तन सम्भव रहेको विश्वास व्यक्त गरेकी छन्।
तस्बिरहरू






