कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आगामी निर्वाचनका लागि आफ्नो चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ। यसै क्रममा उहाँले पोखरा महानगरपालिकाका विभिन्न वडाहरू र माछापुच्छ्रे गाउँपालिकामा पुगेर स्थानीय बासिन्दासँग साक्षात्कार गर्नुभएको छ।
पर्यटकीय मुटु मानिने पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइडस्थित नरेश्वर चोकमा सम्पर्क कार्यालयको समुद्घाटन गर्दै उहाँले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र व्यवस्थित सहरी पूर्वाधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटन, सुशासन र विकासका लागि स्थानीयले देखाउनुभएको उत्साहले ‘परिवर्तनका लागि घण्टी’ अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।” त्यसैगरी, फेवा ताल नजिकैको पोखरा–१८, भकुण्डेमा पनि सम्पर्क कार्यालयको स्थापना गरी उहाँले परिवर्तनको यात्रामा अर्को महत्वपूर्ण कदम चाल्नुभएको छ।
आफ्नो निर्वाचन क्षेत्रका ग्रामीण भेगहरू पोखरा–२५ को झिझिर्का र माछापुच्छ्रे–६ का विभिन्न गाउँहरूमा पुग्नुभएकी गुरुङले किसानहरूको समस्या र ग्रामीण विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ। खेतबारी र माटोसँग जोडिएको जनताको जीवनलाई नजिकबाट नियाल्दै उहाँले “यही माटोको आवाज संसदसम्म पुर्याउने संकल्प” व्यक्त गर्नुभयो। माछापुच्छ्रेको हडौलीमा आयोजित परिचय कार्यक्रममा स्थानीयले देखाएको समर्थन र सकारात्मक ऊर्जाले आफूलाई अझ बढी उत्साह र हौसला मिलेको उम्मेदवार गुरुङको भनाइ छ। निर्वाचन नजिकिँदै गर्दा रास्वपाको पक्षमा देखिएको यो जनलहरले कास्की ३ मा चुनावी सरगर्मी निकै बढाएको छ।
तस्बिरहरू






