कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट कास्की क्षेत्र नम्बर ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई व्यापक बनाउनुभएको छ। उहाँले यस क्षेत्रका विभिन्न भौगोलिक क्षेत्रहरूमा पुगेर स्थानीय बासिन्दाका समस्या र अपेक्षा सुन्दै आफ्नो उम्मेदवारी र पार्टीको योजनाबारे प्रष्ट पार्नुभएको हो।
हालै माछापुच्छ्रे गाउँपालिकाका विभिन्न स्थानहरू मिर्सा, रुम्जा, खारपानी र करुवामा आयोजित उम्मेदवार परिचय कार्यक्रममा गुरुङले स्थानीयहरूसँग साक्षात्कार गर्नुभयो। यस्तै, कालिमाटी, नागी, सिधिङ, तप्रू, ईमो र सैतीघट्टा जस्ता दुर्गम तथा सुगम बस्तीहरूमा पुग्दा मतदाताहरूले रास्वपा र ‘घण्टी’ चुनाव चिन्हप्रति ठूलो उत्साह र समर्थन देखाएको उहाँले बताउनुभयो। चुनावी अभियानका क्रममा घाचोक पुग्नुभएकी गुरुङले जनताको आँखामा अब परिवर्तनको स्पष्ट चाहना देखिएको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले भन्नुभयो, “परिवर्तनको चाहना अब केवल शब्दमा होइन, जनताको आँखामा स्पष्ट देखिन्छ। देशलाई सही दिशा दिन नयाँ सोच र इमानदार नेतृत्वको आवश्यकता छ भन्ने सन्देश घाचोकबासीले प्रष्ट पार्नुभएको छ।” उहाँले स्थानीय नागरिकहरूको आतिथ्यता र सकारात्मक ऊर्जाले आफूलाई अझ दृढताका साथ अघि बढ्न प्रेरणा दिएको बताउनुभयो। “अबको आवाज जनताको हो र यो आवाज परिवर्तनका लागि हो,” उहाँले थप्नुभयो। घरदैलोका क्रममा प्राप्त न्यानो स्वागत र विश्वासलाई आत्मसात् गर्दै जनचाहना अनुरूप विकास र सुशासनका लागि आफू पूर्ण रूपमा प्रतिवद्ध रहेको उहाँको दाबी छ।
तस्बिरहरू






