कास्की – आगामी निर्वाचनको सरगर्मी बढेसँगै कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। “पूर्ण देशैभरि चुपचाप, एकै स्वरमा घण्टीछाप” भन्ने सन्देशसहित उहाँ अहिले मतदाताको विश्वास जित्न टोलटोलमा पुगिरहनुभएको छ।
यसै क्रममा उम्मेदवार गुरुङले पोखरा महानगरपालिका–१८ अन्तर्गत पर्ने सराङकोट, तोरीपानी, सिम्ताल र लामागाउँ क्षेत्रका बासिन्दाहरूसँग भेटघाट तथा संवाद गर्नुभएको छ। स्थानीयसँगको भेटपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको माया, विश्वास र परिवर्तनप्रतिको दृढ चाहनाले हामीलाई अझ बढी जिम्मेवार र उत्साहित बनाएको छ।” उहाँले सोही वडाका ढकाल समाजका सदस्यहरूसँग पनि विशेष भेटघाट गरी स्थानीय मुद्दाहरूमा आत्मीय छलफल गर्नुभएको थियो।
गुरुङले अबको राजनीति केवल भाषणमा मात्र सीमित नभई परिणाममुखी हुनुपर्नेमा जोड दिनुभएको छ। “हाम्रो प्राथमिकता शब्द होइन कर्मको नाप हो,” भन्दै उहाँले परिवर्तनको संकेतका रूपमा घण्टी चिन्हलाई मतदान गर्न अपिल गर्नुभयो। निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुग्दा स्थानीयवासीले नयाँ उम्मेदवार र एजेन्डाप्रति विशेष चासो देखाउँदै उहाँलाई भव्य स्वागत गरेका छन्। देशमा व्याप्त बेथिति अन्त्य गर्न र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै गुरुङले यसपटकको निर्वाचनमा जनताको साथ र सहयोग नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्नुभयो।
तस्बिरहरू



