कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कास्की क्षेत्र नं. ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिनुभएको छ। आगामी निर्वाचनको पूर्वसन्ध्यामा “परिवर्तनका लागि घण्टी” भन्ने मूल नाराका साथ उहाँ अहिले मतदाताको घरदैलोमा पुगिरहनुभएको छ।
प्रचारप्रसारकै क्रममा उम्मेदवार गुरुङले पोखरा महानगरपालिका–१८ मेथलाङका स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभयो। स्थानीयहरूसँगको कुराकानी पछि आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो, “स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको आत्मीयता, विश्वास र परिवर्तनको आकांक्षाले हामीलाई थप उत्साहित र जिम्मेवार महसुस गराएको छ।” उहाँले अब देश पुरानै आश्वासनको भरमा नचल्ने र जनताले परिणाम खोजेको उल्लेख गर्नुभयो।
विगतको राजनीतिक परिपाटीप्रति लक्षित गर्दै गुरुङले भन्नुभयो, “देश परिवर्तनको मोडमा उभिएको छ, अब आश्वासन होइन—काम गर्ने नेतृत्वको सरकार चाहिन्छ।” उहाँले देशव्यापी रूपमा रास्वपाको पक्षमा जनलहर सिर्जना भएको दाबी गर्दै “देश अब घण्टीमय भइसक्यो” भनी उल्लेख गर्नुभयो। जनताको आवाजलाई बलियो बनाउन र समाजमा वास्तविक परिवर्तन ल्याउन रास्वपाको घण्टी चुनाव चिन्हमा मतदान गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ।
राजनीतिक भेटघाटका अतिरिक्त उहाँले विभिन्न सांस्कृतिक र धार्मिक पर्वहरूका माध्यमबाट पनि जनस्तरमा भाइचारा र सद्भाव बाँडिरहनुभएको छ। महाशिवरात्रिको पावन अवसरमा शुभकामना दिँदै उहाँले समाजमा शान्ति र शक्तिको कामना गर्नुभएको थियो। काम गर्ने ठोस योजना र स्पष्ट नेतृत्वका साथ आफू चुनावी मैदानमा आएको भन्दै उहाँले कास्की ३ का मतदाताहरूको पूर्ण समर्थन रहने विश्वास व्यक्त गर्नुभएको छ।
तस्बिरहरू






