कास्की – आगामी निर्वाचनको सरगर्मी बढेसँगै कास्की क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङले आफ्नो चुनावी घरदैलो र संगठन विस्तार अभियानलाई तीव्र बनाउनुभएको छ। उहाँ यतिबेला यस क्षेत्रका विभिन्न गाउँपालिका पुगेर स्थानीयका समस्या सुन्न र पार्टीको एजेन्डा बुझाउन व्यस्त हुनुहुन्छ।
अभियानकै क्रममा उम्मेदवार गुरुङले अन्नपूर्ण गाउँपालिका–१, अधिकारी डाँडाका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग विशेष अन्तर्क्रिया गर्नुभयो। स्थानीयको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा गुरुङले भन्नुभयो, “यहाँहरूको आत्मीयता, विश्वास र परिवर्तनको आकांक्षाले हामीलाई थप उत्साहित र जिम्मेवार महसुस गराएको छ।” उहाँले जनताको यही भरोसा नै आफ्नो राजनीतिक यात्राको मुख्य ऊर्जा भएको उल्लेख गर्दै जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी, माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङ खोलामा रास्वपाको नयाँ पार्टी कार्यालयको विधिवत् उद्घाटन गरिएको छ। कार्यालय उद्घाटन गर्दै गुरुङले अबको निर्वाचन देशको भविष्य बदल्ने एउटा महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले चुनावी नारालाई जोड दिँदै भन्नुभयो, “घण्टीमा छानौँ, भविष्य बचाऔँ। हाम्रा बुवा-आमाको उमेर ढल्किए पनि सन्तानको भविष्यप्रतिको चिन्ता कहिल्यै सुत्दैन, उहाँहरूको त्यही चिन्तालाई समाधान गर्न हामीले यो राजनीतिक बाटो रोजेका हौँ।”
भुर्जुङ खोलाका स्थानीयसँगको आत्मीय भेटघाटपछि उहाँले रास्वपाको घण्टी चुनाव चिह्नमा मतदान गरी नेतृत्व परिवर्तनको अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो। चुनावी प्रचारका क्रममा उहाँले विकास, सुशासन र नागरिकको अवस्था सुधार्न आफ्नो उम्मेदवारी रहेको प्रस्ट पार्नुभएको छ।
तस्बिरहरू






