कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई निकै तीव्रता दिनुभएको छ। यसै क्रममा उहाँले माछापुच्छ्रे गाउँपालिका वडा नं. २ स्थित घडेरी क्षेत्रमा स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलोका क्रममा स्थानीयको उत्साहपूर्ण सहभागिता देखेपछि उम्मेदवार गुरुङले खुसी व्यक्त गर्दै मतदाताहरूलाई सचेत रहन आग्रह गर्नुभयो। उहाँले “परिवर्तनको घण्टी बजिसक्यो, अब चुप लाग्ने होइन, सही निर्णय गर्ने बेला हो” भन्दै नयाँ पुस्ताको आशा र भरोसालाई बलियो बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो। सो अवसरमा उहाँले मतदाताहरूसँग संवाद गर्दै “भविष्य लेख्ने कलम अब आफ्नै हातमा” रहेको भन्दै आफ्नो मताधिकारको सही सदुपयोग गर्न जोड दिनुभयो।
यसैबीच, रास्वपाले पोखरामा एक विशाल जनसभाको आयोजना गर्ने तयारी गरेको छ। आगामी फागुन १० गते आइतबार पोखराको अमरसिंह चौरमा आयोजना हुने उक्त विशेष कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाह समेत सहभागी हुने उम्मेदवार गुरुङले जानकारी दिनुभएको छ। देश बदल्ने संकल्प र परिवर्तनको पक्षमा आवाज बुलन्द गर्नका लागि उक्त कार्यक्रमलाई ऐतिहासिक बनाउन उहाँले सम्पूर्ण कास्कीबासीलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ।
कास्की क्षेत्र नं. ३ मा गुरुङको बढ्दो सक्रियता र घरदैलो अभियानले चुनावी सरगर्मी थप बढाएको छ। उम्मेदवार गुरुङले नयाँ सोच र योजनाका साथ आफू चुनावी मैदानमा उत्रिएको भन्दै परिवर्तनको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ।
तस्बिरहरू






