कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी गतिविधिलाई तीव्र पार्नुभएको छ। “जनतासँग उम्मेदवार साक्षात्कार” तथा सम्पर्क कार्यालय उद्घाटन जस्ता कार्यक्रममार्फत उहाँले स्थानीय मतदातासँगको संवादलाई सघन बनाउनुभएको हो।
हालै अन्नपूर्ण गाउँपालिका–५ को हाइजुङमा उम्मेदवार गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले जोबाङ र नयाँ पुल क्षेत्रका बासिन्दासँग आत्मीय संवाद गर्दै स्थानीयका समस्या र अपेक्षा बुझ्नुभएको थियो। चुनावी अभियानका क्रममा उम्मेदवार गुरुङले भन्नुभयो, “यहाँहरूको माया, विश्वास र परिवर्तनप्रतिको दृढ चाहनाले हामीलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ।” त्यस्तै, कास्किकोट युवा सञ्जालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले स्थानीयको सुझाव र अपेक्षाले जनताको आवाजलाई अझ स्पष्ट पारेको बताउनुभयो।
गुरुङको निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार अन्नपूर्ण, माछापुछ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा फागुन १६ गतेसम्म निरन्तर घरदैलो तथा प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन हुनेछ। यस अभियानको विशेष कार्यक्रमको रूपमा फागुन १० गते पोखराको अमरसिंह चौरमा पार्टी सभापति रवि लामिछाने र बालेन शाहको उपस्थितिमा क्षेत्रीय आमसभा आयोजना गरिने भएको छ। “कास्की ३ को विकास र समृद्धिको स्पष्ट संकल्पसहित हामी जनताको घरदैलोमा पुगिरहेका छौँ,” उहाँको सचिवालयले जनाएको छ। उम्मेदवार गुरुङले यो परिवर्तनमुखी अभियानलाई सफल पार्न सम्पूर्ण क्षेत्रवासीलाई उपस्थितिका लागि आह्वान समेत गर्नुभएको छ।
तस्बिरहरू






