कास्की – आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई थप सशक्त बनाउनुभएको छ। निर्वाचनको अन्तिम तयारीमा रहनुभएकी गुरुङले जनताको नयाँ सोच र नेतृत्वप्रतिको चाहनालाई नै आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ।
आफू राजनीतिमा आउनुको मुख्य कारण खुलाउँदै उम्मेदवार गुरुङले भन्नुभयो, “देशका कलकारखानाहरू धमाधम बन्द हुनु, देशमा रोजगारीको सिर्जना नहुनु र युवाहरू दिनानुदिन विदेश पलायन भइरहेको हृदयविदारक दृश्यले मलाई दिक्क बनायो। यही अवस्थालाई बदल्न र देशमा सकारात्मक परिवर्तन ल्याउन म चुनावी मैदानमा होमिएको हुँ।” उहाँले परिवर्तन अब ढोकामै आइसकेको र यसलाई सफल बनाउन जनताले साहस र सचेतनाका साथ सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो।
मतदानका लागि अब १३ दिन मात्रै बाँकी रहेको स्मरण गराउँदै गुरुङले सामाजिक सञ्जालमार्फत पनि मतदाताहरूलाई घण्टी चिह्नमा मतदान गर्न अपिल गरिरहनुभएको छ। उहाँले “जनताको आवाज, जनताकै शक्ति” नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै अबको जिम्मेवारी परिवर्तनको पक्षमा उभिनु रहेको उल्लेख गर्नुभयो।
यसै क्रममा, यही फागुन १० गते आइतबार पोखरामा हुने तय भएको “परिवर्तन उदघोष सभा” भने विशेष कारणले स्थगित भएको छ। पार्टीको केन्द्रीय निर्वाचन सम्पादन समितिको निर्देशन र पत्रअनुसार सभा स्थगित गर्नुपरेकोमा उहाँले मतदाता र शुभचिन्तकहरूसँग क्षमा माग्नुभएको छ। सभा स्थगित भए तापनि उहाँको चुनावी अभियान र टोलटोलमा पुगेर जनताको गुनासो सुन्ने कार्यक्रम भने निरन्तर अगाडि बढ्ने उहाँले जानकारी दिनुभएको छ।
तस्बिरहरू



