कास्की – आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। निर्वाचन आउन अब मात्र ११ दिन बाँकी रहँदा गुरुङले ‘परिवर्तनको समय आएको’ भन्दै मतदाताहरूको घरदैलोमा पुगेर मत माग्ने कार्यलाई गति दिनुभएको हो।
चुनावी प्रचारप्रसारका क्रममा उहाँले आज कास्कीका बागलुङ बसपार्क, भैरवटोल, विन्ध्यवासिनी, अर्चलबोट र मिरुवा लगायतका क्षेत्रमा स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट तथा आत्मीय संवाद गर्नुभएको छ। सो अवसरमा मतदाताहरूको उत्साह र परिवर्तनप्रतिको चाहनाले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार गुरुङले बताउनुभयो।
आफूलाई अन्य राजनीतिक नेताहरूसँग तुलना गर्दै उहाँले स्पष्ट पार्नुभयो, “मलाई अरू नेताजस्तै मिठो बोल्न आउँदैन, तर यसकै अर्थ यो होइन कि म काम गर्न सक्दिन। म सफल समाजसेवी र उद्यमी हुँ, जो विगतदेखि नै यही क्षेत्रमा निरन्तर काम गर्दै आएकी छु।” उहाँले आफू कुरा भन्दा पनि काममा बढी विश्वास गर्ने व्यक्ति भएको दाबी समेत गर्नुभयो।
लामो समयदेखि उद्यमशीलता र समाजसेवामा सक्रिय गुरुङले अब चुप लागेर बस्ने समय नरहेको उल्लेख गर्दै परिवर्तनका लागि ‘घण्टी’ बजाउनु पर्नेमा जोड दिनुभयो। “अब चुप लाग्ने होइन— अब घण्टी बजाउने हो,” उहाँले भन्नुभयो। रास्वपाको चुनाव चिह्न घण्टीमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गर्दै उहाँले क्षेत्र नम्बर ३ को विकासका लागि स्पष्ट योजना रहेको बताउनुभयो। स्थानीयस्तरमा उहाँको पक्षमा देखिएको जनलहरले यस पटक कास्कीमा परिवर्तनको संकेत देखिएको रास्वपा कार्यकर्ताहरूको दाबी छ।
तस्बिरहरू



