कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की क्षेत्र नम्बर ३ की उम्मेदवार विना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई निकै तीव्र बनाउनुभएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा गुरुङले स्थानीय स्तरमा पुगेर मतदाताहरूसँगको भेटघाट र संवादलाई व्यापक पार्नुभएको हो।
पछिल्लो समय उहाँले माछापुच्छ्रे गाउँपालिका–३ को घाचोक र वडा नम्बर ४ को लाचोक क्षेत्रका बस्तीहरूमा पुगेर स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग आत्मीय संवाद गर्नुभएको छ। चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुग्दै गुरुङले भन्नुभयो, “यहाँहरूको माया, विश्वास र परिवर्तनप्रतिको दृढ चाहनाले हामीलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ।” उहाँले अबको १० दिन परिवर्तनको निम्ति निकै निर्णायक हुने भन्दै सबै सचेत मतदाताहरूलाई घण्टी चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ।
विशेष गरी युवा पुस्ता र ‘जेन–जी’ (Gen-Z) मतदाताहरूलाई लक्षित गर्दै गुरुङले नयाँ सोच र जोसको आवश्यकता औंल्याउनुभएको छ। उहाँले युवाहरूको आवाजलाई सम्बोधन गर्दै भन्नुभयो, “हामीलाई हेप्नेहरू धेरै भए, तर अब घण्टी हाम्रो उत्तर हो।” आफ्नो क्षेत्रको विकास, सुशासन र राजनीतिक शुद्धीकरणका लागि आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ। निर्वाचन मार्फत मतदाताले सही निर्णय लिने र यस पटकको नतिजा फरक आउनेमा उहाँ पूर्ण विश्वस्त देखिनुहुन्छ। प्रचारप्रसारका क्रममा गाउँगाउँमा देखिएको मतदाताहरूको स्वतःस्फूर्त उत्साहले कास्की ३ मा परिवर्तनको लहर आएको दाबी गरिएको छ।
तस्बिरहरू



