कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई निकै तीव्रता दिनुभएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार गुरुङले विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रहरूमा पुगेर मतदाताहरूको मन जित्ने प्रयास गरिरहनुभएको छ।
यसै क्रममा, रास्वपाकी नेतृ तथा चर्चित सञ्चारकर्मी रीमा विश्वकर्माले कास्की पुगेर गुरुङको चुनावी अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ। उहाँले “परिवर्तनको सुरुवात कास्की–३ बाटै हुने” बताउँदै स्थानीय मतदातालाई “परिवर्तनका सम्भावक बन्न र घण्टीमा मतदान गर्न” विशेष अपिल गर्नुभयो। चुनावी दौडाहाकै बीच उम्मेदवार गुरुङले अन्नपूर्ण गाउँपालिका–७ स्थित पवित्र कान्छीबराह मन्दिरको दर्शन गरी आशीर्वाद लिनुभएको छ। “यस पावन स्थलको आशीर्वादले आफूलाई जनसेवाका लागि सद्बुद्धि र सकारात्मक ऊर्जा प्रदान गरेको” उहाँले बताउनुभयो।
यस्तै, गुरुङले कास्कीको प्रख्यात पर्यटकीय गाउँ घान्द्रुकमा पुगेर स्थानीयसँग आत्मीय भेटघाट र संवाद गर्नुभएको छ। अन्नपूर्ण–१० मा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूका समस्या सुन्दै क्षेत्रको विकासका लागि आफ्ना योजनाहरू प्रस्तुत गर्नुभयो। मतदान हुन अब केवल ९ दिन मात्र बाँकी रहँदा उहाँले “परिवर्तनको सुरुवात कास्की–३ बाटै हुने” विश्वास व्यक्त गर्दै मतदाताहरूलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ। स्थानीय स्तरमा देखिएको यो उत्साहले आगामी निर्वाचनमा नयाँ परिणाम आउने अपेक्षा गरिएको छ।
तस्बिरहरू



