कास्की – आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। “परिवर्तन झन् नजिकिँदै छ” भन्ने नाराका साथ उहाँ अहिले मतदाताको घरदैलोमा पुगेर आशीर्वाद लिन व्यस्त हुनुहुन्छ।
निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवार गुरुङले पोखरा–०६, बैदाममा स्थानीय आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नुभयो। स्थानीयसँगको भेटपछि उहाँले भन्नुभयो, “आज बैदाममा पुगेर स्थानीयहरूले देखाउनुभएको माया, विश्वास र आशीर्वादले हाम्रो हौसला अझै बलियो बनाएको छ। यहाँहरूको भरोसा नै हाम्रो शक्ति हो।”
गुरुङले वर्षौँदेखि नेपाली जनताले आश्वासन मात्र पाएको भन्दै अबको राजनीति काममा आधारित हुनुपर्नेमा जोड दिनुभयो। “धेरै सुन्यौँ, धेरै सह्यौँ। अब झुट होइन, काम चाहियो,” उहाँले चुनावी सभाहरूमा भन्नुभयो, “झुटको राजनीति बन्द गर्न र सकारात्मक परिवर्तनका लागि आगामी फागुन २१ गते घण्टीमा मतदान गरौँ।”
निर्वाचनका लागि अब केही दिन मात्र बाँकी रहँदा गुरुङले आफू र आफ्नो पार्टीको उपस्थितिलाई एक साहसी कदमको रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले थप्नुभयो, “यो क्षण परिवर्तनको लागि उठाइएको साहसी कदम हो। हामी सबै मिलेर सकारात्मक परिवर्तनको यात्रामा अगाडि बढ्नेछौं।” रास्वपाको चुनावी अभियानमा स्थानीय युवाहरूको पनि उल्लेख्य सहभागिता र समर्थन देखिएको छ।
तस्बिरहरू



