कास्की – आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङले आफ्नो चुनावी घरदैलो र प्रचारप्रसार अभियानलाई निकै तीव्रता दिनुभएको छ। क्षेत्रका विभिन्न टोल र बस्तीहरूमा पुगेर उहाँले मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै घण्टी चिह्नमा मतदान गर्न आग्रह गरिरहनुभएको छ।
अभियानका क्रममा लामाचौरको सहर–डहर र चनौटेका बासिन्दाहरूसँग भेटघाट गर्दै गुरुङले स्थानीयको अपार माया र विश्वास पाएको बताउनुभयो। मतदाताको उत्साहलाई देखेपछि उहाँले भन्नुभयो, “तपाईंहरूको साथ र हौसलाले हामीलाई जिततर्फ झन् नजिक ल्याएको छ। परिवर्तनको यो यात्रामा हामी सबै सँगै छौं।” त्यस्तै, पोखरा–१९ को पुरनचौरमा आयोजित कार्यक्रममा युवाहरूको मात्र नभई ज्येष्ठ नागरिकहरूको पनि उल्लेख्य समर्थन प्राप्त भएको छ। ज्येष्ठ नागरिकहरूबाट पाएको आशीर्वाद र एकता नै आफ्नो साँचो शक्ति भएको उम्मेदवार गुरुङको दाबी छ।
भौतिक उपस्थितिसँगै गुरुङले यसपटक प्रविधिको प्रयोगलाई पनि विशेष प्राथमिकता दिनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई आफ्नो तस्बिरसहितको चुनावी पोस्टर बनाएर प्रचारमा सघाउन अपील गर्नुभएको छ। उहाँले “परिवर्तनका लागि फागुन २१ गते घण्टीमा मतदान गरौँ” भन्दै सबैलाई गोलबद्ध हुन आह्वान गर्नुभएको छ। कास्की–३ मा बढ्दो जनलहर र प्रविधिमैत्री प्रचारले गर्दा यसपटक रास्वपाको पक्षमा उत्साहजनक परिणाम आउने आँकलन गरिएको छ।
तस्बिरहरू






